भिक्षा भारी उज्यालो, अझ वन वनको साग सिस्नु उज्यालो।
फयाङ्लो गुन्द्री उज्यालो, वर पर घुम्दा जीर्ण कन्था उज्यालो
तृष्णाको तुच्छ जालो मनबीच नभए जो मिल्यो सो उज्यालो।।
कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो
कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो।
कैलाश श्रेणि कालो झलमल गर्ने शु्र्यको बिम्ब कालो
यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाब कालो।।
मत्ता हात्ती हलुङ्गो, विकट जलधिका ह्वेल माछो हलुङ्गो
जङ्गी बेडा हलुङ्गो, विकट कटकटे रेलगाडी हलुङ्गो।
शैलश्रेणी हलुङ्गो, पृथुतम पृथिवी-पिण्ड सारा हलुङ्गो
यो व्रह्माण्डै हलुङ्गो, जब सब मनको तिर्सना लाग्छ टुङ्गो।।
दोषी माता पिताका बचन गुरुजनादेश नि:शेष दोषी
सत्यात्मा मित्र दोषी गृह परिजनको चाल देखिन्छ दोषी।
पत्नीको प्रेम दोषी अमृतमय मीठा वेदका वाक्य दोषी
यो सारा सृष्टि दोषी विधिवश छ भने आफ्नो दृष्टि दोषी।।
जस्तो मानी धनीका नगिच हरघडी टप्प जोडेर हात
छाती खोलेर गर्छौ हृदय बुझि सदा नम्रता साथ बात।
दु:खीका साथ उस्तै विनयसित सदा मर्म सम्झेर बोल
गर्नै पर्दैन फेरि ब्रत, जप, तपले स्वर्गको मोल तोल।।
~ कविशिरोमणि लेखनाथ पौड्याल ~
Kabi Shiromani Lekhnath Paudyal