अति सुन्दर मानव-जीवन यो - धरणीधर कोइराला

अति सुन्दर मानव-जीवन यो

अझ सुन्दर पार्नु कसो गरि हो ?

गरि काव्य-सुधा रसपान अरे

गर मानव-जीवन सार्थक रे ॥


न त झांकि न वैद्य न ज्योतिषिले

उपचार गरीकन शान्ति दिने

मन-रोग निरोग गराइदिने

बुझ काव्य-सुधा-रस औषधि हो ॥

 

सब कल्मप नाशि सुकाउँछ यो

मन-मोद विनोद भराउँछ यो

दुःख दुर्दुर पारि हटाउँछ यो

मन फुफुर पारि नचाउँछ यो ॥


झगरा तकरार छिनाउँछ यो

सब नीच र ऊँच भुलाउँछ यो

अति उत्तम ज्ञान दिलाउँछ यो

मणितुल्य छ यो नलिने पशु हो ॥

 

महझै छ मिठो बह पार्छ पिठो

तहलाउँछ यो मनलाइ छिटो

पढि भाइ सबै अब काव्य मिठो

मन माझि गरौं निज बुद्धि ढिटो ॥

 

मनलाइ नमाझि हुँदैन हरे

मन स्वच्छ नभै सुख छैन भरे

मन-शुल-निवारण-कारण यो

गुण काव्यसरी अरु के छ मिठो ?


पढी पूर्व र पश्चिम उत्तरका

अरु दक्षिण का कविका कविता

कविका कृति वा कविता-सरिता—

बिच हेलिनपर्छ ल है अब ता ॥

 

अति निर्मल ज्योति विकाश गरी

भरि मात-भण्डार प्रकाश गरी

मनका शभ भाव अनेक थरी

छरि जाति-सुधार गरौं नडरी ॥


नहिं ता यस मानव-जीवनको

गति व्यर्थ छ यो अकृतार्थ भयो

यस हेतु यहाँ विनती यही हो

पिउ काव्य-सुधा-मधु मानव हो ॥


~ धरणीधर कोइराला ~

Dharanidhar Koirala