शाकुन्तल - महाकवि लक्ष्मीप्रसाद देवकोटा

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित नेपाली भाषाको महाकाव्य "शाकुन्तल" वि.सं.२००२ सालमा पहिलो पल्ट प्रकाशित भएको थियो। यो महाकाव्य संस्कृतका महाकवि कालिदासको "अभिज्ञान शाकुन्तलम्"को कथालाई प्रमुख आधार मानी रचना गरिएको छ। यसमा जम्मा २४ खण्डहरु रहेका छन्। 



जाग जाग अब - धरणीधर कोइराला

जाग जाग अब जागन जाग ।

लाग उन्नतिविषे अब लाग ।।

घोर नींद अब ता परित्याग ।

भो भयो अति सुत्यौ अब जागे ।।


दाजुभाइहरु हो ! उठ जाग ।

लाग उन्नतिविषे अब लाग ।।

धोउ धोउ मनको अब मैलो ।

फालिदेउ डरको अब थैलो ।।


जाग जाग अब जागन जाग ।

लाग उन्नतिविषे अब लाग ।।

हेर लै अरुहरु सब जागे ।

जाति उन्नतिविषे अब लागे ।।


हामिहेरु पनि लौ अब जागौं ।

जाति उन्नतिविषे सब लागौं ।।

घोर नीद अब ता परित्यागौं ।

भो भयो अति सुत्यौं अब जागौं ।।


लाज की कि खुशी की ममता की ।

क्यै न क्यै त मनमा अब डाकी ।।

जाति प्रेम न गरिकन हुन्न ।

हात बाँधि यसरी अब हुन्न ।।


लाजले कि खुशिले जनताले ।

जाति-भक्ति नगरि कहिंकाले ।।

जाति-उनन्ति कसै गरिएको ।

छैन भाइहरुहो ! सनिएको ।।


फुट फाट छल छाम र काम ।

यी बुझी कपटका परिणाम ।।

त्यागनू कपट यो अब जाति ।

अन्यथा सब बुझ्यो बुझ जाति ।।


आर्य गौरव कहाँ रहि जाला ।

पुत्र पौत्रहरुको कुन हाला ।।

हो हुने सब विपार गरौं लौ ।

धर्म कर्म तिर चित्त धरौं लौ ।।


स्वार्थ-त्याग तिर चित्त लगायौं ।

शास्त्र-पाठ पढि ध्यान घुमावौं ।।

स्त्री-युवा सब मिली अब लागौं ।

जाति-उन्नति विषे अब लागौं ।।


बेर धेर अझ हो कति गर्ने ?

रीस डाह गरि नै कति मर्ने ?

प्रेमको अब उधारी पिटारी ।

जाति-धर्म खुद आफु सह्यारी ।।


अन्य जातिहरुका अब दाँजा ।

लागने समय भो बुझ ताजा ।।

दाजु भाइहरु हो ! उठ जाग ।

लाग उन्नति विषे अब लाग ।।


घोर नींद अब ता परित्याग ।

भो भयो अति सुत्यौ अब जाग ।।

जाग जाग अब जागन जाग ।

लाग उन्नति विषे अब लाग ।।


लाज भो अरुहरु अघ जाने ।

हामीहेरु रहने रइथाने ।।

हामीहेरु पनि मानिस नै हौं ।

के भएर निसपट्ट भए छौं ?


जे भए पनि भयो अब भैगो ।

वितनु हो जति थियो वितिगैगो ।।

खोल लौ नयन खोल न खोल ।

फालछौ किन ? नफालन काल ।।


धर्म-शास्त्र पढ चित्त सपार ।

सभ्य चाल चल जाति सुधार ।।

जाग जाग अब जाग न जाग ।

लाग उन्नति विषे अब लाग ।।


~ धरणीधर कोइराला ~

Dharanidhar Koirala

तरुण तपसी - लेखनाथ पौड्याल

म खाऊँ मै लाऊँ, सुख–सयल वा मोज म गरूँ
म बाचुँ मै नाचुँ, अरू सब मरून् दुर्बलहरू
भनी दाह्रा धस्ने अबुझ शठदेखि छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरि
(तरुण तपसी 18/28)

                    ***

न शक्छौ यो आँशू टपटप टिपी चप्प पिउन
न शक्छौ मासूले दिनभर अघायेर जिउन।
न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन
चुँड्यौ व्यर्थै मेरो मनुज। तिमिले जीवन किन?।। 
(तरुण तपसी 6/4)

                    ***

न टोक्ता टोकिन्छन्, न त छ रस वा स्वाद तिनमा
न ता दिन्छन् प्रज्ञाबल, न त कुनै शान्ति मनमा।
न जाडो हर्छन् ती, न त उदर भर्छन् अलिकति
कठै त्यस्तो श्रद्धासित किन बटुल्छन् बिनसिति।।
(तरुण तपसी 11/14)


~ कविशिरोमणि लेखनाथ पौड्याल ~
Kabi Shiromani Lekhnath Paudyal

तरुण तपसी नव्यकाव्यको प्रथम प्रकाशन वि.सं.२०१० सालमा भएको थियो। यो काव्य १९ विश्राममा विभाजित गरिएको छ । यसमा प्राय श्लोकहरु शिखरिणी छन्दका छन् । भने प्रत्येक विश्रामको प्रारम्भमा वियोगिनी छन्द र अन्त्यमा मालिनी छन्दको प्रयोग गरिएको छ।

मोतीराम भट्ट

दुई आँखिभौँ त तयार छन्, तरबार पो किन चाहियो,
तिमी आफु मालिक भैगयौ, सरकार पो किन चाहियो

पहरा कडा छ कटाक्षको, हरदम तयार मुहारमा, 
घर भन्नु भारि महल न हो, दरबार पो किन चाहियो

कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि, मोती, नीर जुहार न हो, अरु हार पो किन चाहियो

~ मोतीराम भट्ट ~

Motiram Bhatta

मोतीराम भट्ट (वि.सं. १९२३-१९५३ ) नेपाली साहित्यका अग्रिणी सर्जक मध्ये एक हुनुहुन्छ। उहाँलाई नेपालमा गजल विधाको सुरुवात गराउने सर्जकको रुपमा पनि चिनिन्छ।

थप हेर्नुहोस्:

नेपाली गजल.कम

सङ्गीतचन्द्रोदय

रामायण - आदिकवि भानुभक्त आचार्य

एक् दिन् नारद सत्यलोक् पुगि गया लोक्को गरूँ हित् भनी।

ब्रह्मा ताहिं थिया पर्या चरणमा खूसी गराया पनी।।

क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै।

ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै।।1।।


आदिकवि भानुभक्त आचार्यको सम्पूर्ण रामायण पढ्नुहोस् *




सर्वार्थ योगवाणी - योगमाया न्यौपाने

एउटा घर श्राद्ध खाई अर्का घरमा आँटे ।
ग्रहहरू बिन्ति गर्छन् पुरोहितले ढाँटे ।।
पुरोहितको बुद्धि हेर निक्री लिने जुक्ति ।
एउटी गौले बाह्रजग्गा कहिले हुन्थ्यो मुक्ति ।।

~

धर्म सम्झी विचार गरी इन्साफ हेरेन ।
पैसा धेरै पायौ भने बेर त लाएन ।।
कुल त हाम्रो ब्राम्हण नै हो छैनौ कुलैमा ।
जात त हाम्रो सत्य छैन राख चुलैमा ।। (योगवाणी,१२)

~~

सै वातको अर्थ नलाई धर त पाएनौ ।
पैसा धेरै पायौ भने बेर त लाएनौ ।।
धर्म थाम्ने इन्साफीले विचार है गरून् ।
कुन कुन जातले जुन जुन ल्याउँछ जातमा मिलाउन् ।।(योगवाणी,१३)

~~

अन्त्य कालमा त्यो घुसले फटाउला धाँजा ।
बडो कष्ट मिली जाला त्यो घुस निस्की जाँदा ।।
अहिले मात्र पचेको छ भरे पच्ने छैन ।
सम्झी राख सत्य बचन् झुट्टा हुने छैन ।। (योगवाणी,२४)

~~
ब्राह्मणले सत्य धर्म सब छाडी दिए ।
जगतमा भ्रष्ट कर्म सब गर्दा भए ।।
त्राहि त्राहि पर्‍यो प्रभू झुट्टा कर्मैले ।
सारा लोक्मा छाड्यो प्रभू साँच्चा धर्मैले ।।

~~

सरकारका अड्डा अदालत रहेका ।
लोकको नियाँ हेर्न राखि दिएका ।।
लोभले गर्दा धर्मको नष्ट पारी ।
नियाँ त्यसको थियो लियो घुस हकारी ।।
दोहोरो दण्ड त्यसैमा लगायो ।
थियो जित्ने मुद्दा त्यो मुद्दा हरायो ।।

~~

थितिदेखि बेथिति त भएकै छ अहिले ।
त्यही थिति बिग्रिनाले बिन्ती गरेँ मैले ।।

~~

अहिले मात्र पचेको छ, भरे पच्ने छैन,
सम्झी राख सत्य वचन झुटो हुने छैन ।।

~~

महाराज छन् दरबारमा हेर्न आउँदैनन् ।
दुःखी जनले नियानिसाफ सिधा पाउँदैनन् ।।
जागिरदार लोभी छन् न्याय हेर्दैनन् ।
मर्नु पर्ने शरीर हो विचार गर्दैनन् ।। (योगवाणी, १५१-१५२)



~ योगमाया न्यौपाने ~
Yogmaya Neupane

सर्वार्थ योगवाणी (प्रथम प्रकाशन: वि.सं.१९९५ पूर्व)

 

प्रथम नेपाली कवयित्री तथा समाज सुधारक योगमाया न्यौपाने (वि.सं. १९२४ - १९९८) को "सर्वार्थ योगवाणी" नामक एक कविता संग्रह प्रकाशित छ। निरङ्कुश राणाशासनमा उनले राजनीति तथा समाज सुधारका लागि बुलन्द आवाज उठाएकी थिइन् । त्यसैको खातिर वि.सं. १९९८ असार २२ गते उनले अरुण नदीमा जलसमाधि लिइन् । उनको साथमा कुल ५९ देखि ६८ जना महिला पुरुष
ले जलसमाधि लिएका थिए । 

योगमाया बारेमा प्रकाशित कृतिहरु:- 
*'योगमाया '(२०७४) (मदन पुरस्कार विजेता उपन्यास ) - निलम कार्की निहारिका 
*‘अमर ज्योति योगमाया' - डा .दिपेश न्यौपाने  
*‘योगमायाको जीवनी र योगदान’ (२०७९) (सम्पादन -लेखनाथ भण्डारी) 
*‘नेपाली सन्त परम्परामा योगमाया र सर्वार्थ योगवाणी’ (२०८०) - मातृका तिम्सिना 
*'सामाजिक आन्दोलनकी अग्रणी तथा कवि योगमाया'-लेख संकलन/प्रकाशक नेपाल अध्ययन केन्द्र
* 'नेपाली सन्त परम्परामा योगमाया र सर्वार्थ योगवाणी'- मातृका तिम्सिना
* 'समाज सुधारक योगमाया '-डा. गोविन्दमानसिंह कार्की
* 'बहुमुखी व्यक्तित्वकी धनी योगमाया '- लेख संकलन/प्रकाशक नेपाल स्रष्टा समाज
* 'योगमाया शक्तिपीठ तपोभूमि' -कविता चापागाईं
* 'योगमाया र उनको अदम्य साहस' -बमबहादुर थापा
* 'सामाजिक जागरणमा महिला विद्रोहको प्रस्थान विन्दु' -लेखनाथ भण्डारी
* 'योगमाया र उनका वाणीहरू' -प्रकाशक चन्द्रबहादुर बस्नेत
* 'Heir to a Silent Song: Two Rebel Women of Nepal' - बारबरा निम्री
* 'सर्वार्थ योगवाणी र प्रगतिशील कवि योगमाया'-निनु चापागाईं

रातो र चन्द्रसुर्जे, जङ्गी निशान हाम्रो - गोपालप्रसाद रिमाल

रातो र चन्द्रसुर्जे, जङ्गी निशान हाम्रो।

जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो।।


हिमालझैँ अटल यो, झुकेन यो कहिल्यै।

लत्रेन यो कहिल्यै, जङ्गी निशान हाम्रो।।

यो जन्मँदै जगत्मा कैयौँ प्रहार आए।

साम्राज्य दुई हारे, हारेन सान हाम्रो।।


जबसम्म चन्द्रसुर्जे आकाशमा रहन्छन्।

तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो।।

गाईसरि छन् साधु जोजो यहाँ जगत्‌मा।

सबको सरन बलियो, जङ्गी निशान हाम्रो।।